काठमाडौं — नेपालले युएईमाथि १७७ रनको पराकिलो जित निकाल्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यतालाई जोगाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत जारी खेलमा नेपालले युएईलाई सहज जित निकालेको हो ।

अब नेपालले विश्वकप छनोटमा पुग्न अब दुई खेल जिते पुग्छ । सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ । जारी श्रृङ्खलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौंथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफाईमा छनोट हुनेछ ।

युएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । लिग टू को शीर्ष पाँच भित्र पर्ने टिमको ओडीआई मान्यता कायम रहने छ भने शीर्ष ३ टिमले विश्वकप छनोट खेल्न पाउने छन् । युएईले भने ओडीआई मान्यता कायम राख्नका लागि अब प्लेअफ क्वालिफाई खेल्नुपर्नेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आईतबारको खेल नेपाल र यूएई दुवैका लागि गर या मरको स्थितिमा थियो । टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी वहन गर्दा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

आजको खेलमा नेपालको घातक बलिङसामु युएईका ब्याटर निरीह साबित भए । जितका लागि नेपालले दुई सय ४९ रनको लक्ष्य दिएकामा युएईको पारी ७१ रनमै ध्वस्त भयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो । नेपालले २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा कप्तान रोहितकुमार पौडेलले पारी सम्हालेका थिए । उनले ११२ बल खेल्ने क्रममा नौ चौकासहित ७७ रन बनाए । पौडेल आजको खेलमा प्लेयर अफ द म्याचसमेत घोषित भए ।  

यस्तै, आरिफ शेखले ५२ बल खेल्दै ४३, गुल्सन झाले ३१ बलमा ३७,  दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रन र भीम सार्कीले ३७ बल खैल्दै २९ रन बनाए । बलिङतर्फ यूएईका लागि आयान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई÷दुई तथा आर्यन लाक्रा र जुनैद सिद्धिकीले एक÷एक विकेट लिए । 

दुई सय ४९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा यूएईले २२ दबमलव पाँच ओभरमा आफ्ना सबै विकेट गुमाउन पुग्यो । युएईले आठ रन बनाउँदा चार विकेट गुमाएको थियो । उसका लागि आयान अफजल खानले सर्वाधिक २९ रन बनाए । यस्तै अशवान्थ वल्थपाले १४ तथा कार्तिक मैयाप्प्नले अविजित ११ रन बनाए । 

युएईलाई न्यून रनको योगफलमा समेट्न नेपालका ललितनारायण राजवंशीले महत्वपूर्ण भूमिका निभाए । उनले सात दशमलव पाँच ओभर बलिङ गर्ने क्रममा दुई मेडन राख्दै २० रन खर्चेर पाँच विकेट लिए । यस्तै सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । यसैगरी सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक÷एक विकेट लिए ।