फाइल तस्वीर
काठमाडौं — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले युनाइटेड अरब इमिरेटस (यूएई) लाई २४९ रनको लक्ष्य दिएको छ । कप्तान रोहित पौडेलको अर्धशक अनी गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा नेपालले २४८ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गर्नपुगेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो । निर्धारित ५० ओभरको खेलमा उक्त रन बनाएको हो । खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै ओभर ब्याटिङमा कमजोर देखिएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए भने आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोड् सफल भए ।

कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट भए । २२ रनमै ३ विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे ।

रोहितले ११२ बल खेल्दै ९ चौका प्रहार गरी ७७ रन बनाए । भीमले ३७ बल खेल्दै ४ चौका मद्दतमा २९ रन बनाए । आरिफ शेखले ५२ बल खेल्दै ५ चौका मद्दतमा ४३ रन बनाए ।

रोहित ३८ औं ओभरमा आउट भएपछि आरिफले गुल्शन झासँग मिलेर छैटौं विकेटका लागि ३० रनको साझेदारी गरे । आरिफ ४३औं ओभरमा आउट हुँदा नेपाल १९२–६ को अवस्थामा थियो । तर गुल्शन र दीपेन्द्रले आक्रमक ब्याटट्टिङ गर्दै सातौं विकेटका लागि ४८ रनको साझेदारी गरे ।

४८औं ओभरमा आउट भएका गुल्शनले ३२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए । नेपाली इनिङ्समा गुल्शन सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । त्यसपछि नेपालले लगातार विकेट गुमायो । दीपेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३४ रन बनाए । सन्दीप र दीपेन्द्र ४९ औं ओभरमा आउट भए । सन्दीप लामिछाने २ रन र सोमपाल कामी अन्तिम ओभर २ रनमै आउट पुगेका थिए ।

यूएईका लागि आयान अफजल खान, जाहुर खान, रोहन मुस्ताफा र जावार परिदले २–२ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकीले समान १ विकेट लिए ।