साङ्केतिक तस्वीर
विराटनगर — प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरिएपछि पहिचानसहितको परिमार्जित नामाकरण गर्नुपर्ने माग गर्दै आइतबार आह्वान गरिएको बन्दको प्रभाव आंंशिक रुपमा देखिएको छ । प्रदेशसभाले गरेको नामकरणविरुद्ध असन्तुष्टि जनाउँदै विभिन्न जातीय सङ्गठन र पहिचान वादी दलहरुले आह्वान गरेका बन्दोको प्रभाव आंंशिक रुपमा परेको हो ।

प्रदेश राजधानी विराटनगरमा बन्दका नगन्य प्रभाव परेको छ । यातायातका साधन सञ्चालनमा छन् । बन्दको प्रभाव मोरङको उत्तरी भेगका केही पालिकाहरूमा परेको छ । कतिपय पालिकाहरूका शैक्षिक संस्था बन्द गरिएका छन् ।

झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा र सुनसरी का कतिपय पालिकाहरूमा बन्दको प्रभाव सामान्य रहेको र लामो दूरीका सवारीसाधन सडकमा गुडेका छैनन् । दमक इटहरी र पथरीलगायत आसपासका क्षेत्रमा नगन्यरुपमा सवारीसाधन चलेका छन् । धरान भने बन्दको प्रभाव देखिएको छ । सवारीसाधनमा पूर्णरुपमा रोक लगाइएको छ भने बजार सुनसान रहेको छ ।

पहिचानखुल्ने गरी प्रदेशको नामाकरण गर्नुभन्दै आएका जनता समाजवादी पार्टी (जसपा), सङ्घीय लिम्बुवान पार्टी, किरात याक्थुम चुम्लुङलगायत पार्टी र संस्थाका कार्यकर्ताहरुले कतिपय स्थानमा बिहानैदेखि सवारीसाधन सञ्चालन गर्न दिएका छैनन् ।

यता मोरङमा भने बन्दको सामान्य प्रभाव परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बन्दको आह्वान गर्दै शनिबार साँझ कोशी प्रदेशका विभिनन ठाउँमा राँके जुलुस निकालिएको थियो ।