काठमाडौं — नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छिन् । क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्द भण्डारीले अवार्ड हात पारेकी हुन् । भोटिङका आधारमा विजेता चयन गरिएको यो विधमा उनले कुल ३८ प्रतिशत भोट पाइन् ।

विजेता छनोटका लागि इसेवाबाट आउने भोटिङको मतभार ५० प्रतिशत, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङको मतभार २५ प्रतिशत र राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र खेलकुद पत्रकारले गर्ने भोटिङको मतभार पनि १२ दशमलव ५ प्रतिशत थियो ।

यो सबैबाट मिलाउँदा उनले ३८ दशमलव ०८ प्रतिशत मत पाएकी थिइन् । मनोनयनमा परेका अञ्जन विष्टले ३१ दशमलव १४ प्रतिशत, आसिफ शेखले १४ दशमलव ९९ प्रतिशत, अभिलाषा विष्टले ८ दशमलव ३२ प्रतिशत र डुवान लामाले ७ दशमलव ५० प्रतिशत मत पाए ।

प्रतिभा मालीपछि नेपाली महिला भलिबलले पाएको भरपर्दो ओपन स्पाइकर बनेकी उषाले १३ औं सागमा डेब्यू गरेयता पछाडि फर्केर हेर्नुपरेको छैन । १८ वर्षको उमेरमा उनी आफ्नो क्लब नेपाल पुलिसकी प्रमुख खेलाडी बनिसकेकी छन् भने राष्ट्रिय टिमको नियमित सदस्य । पछिल्लो दुई वर्ष माल्दिभ्समा क्लब भलिबल प्रतियोगिता खेलेर आफूलाई थप अनुभवी बनाइसकेकी छन् । यसकै आधारमा उनी यो अवार्डको मनोनयनमा परेकी थिइन् । उनलाई समर्थकले पनि मन पराएर भोट गरे र उनले यो अवार्ड जितिन् ।