काठमाडौं — पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज मङ्गलबार भने सम्हालिएको छ । मङ्गलबार १४ दशमलव ४१ अङ्कले बढेको बजार १९५२ दशमलव ६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ।

मङ्गलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ । मङ्गलबार उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए । सबैभन्दा धेरै जलविद्युत (१ दशमलव ६७ प्रतिशत)का लगानीकर्ताले कमाए ।

मङ्गलबार शुभम् पावर लिमिटेड र सुपरमादी हाइड्रोको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । सिद्धार्थ इन्भेष्टमेन्ट, इमर्जिङ नेपाल, स्वाभिमान लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले बढ्यो ।

सीवाईसी नेपाल लघुवित्त, नविल इक्विटी फण्ड, समिट लघुवित्त, कुमारी धनवृद्धि योजनासहितका धितोपत्रको मूल्य भने धेरैले घटेको छ । साल्ट ड्रेडिङ, हिमालयन डिष्ट्रिलरी, छिमेक लघुवित्त, शिवम सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।