फाइल तस्वीर
दुबई– आईसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा पपुवा न्युगिनी (पिएनजी) जित निकालेको छ । युएईलाई ५ विकेटले पराजित गर्दै पपुवा न्युगिनीले जित निकालेको हो ।

युएईले दिएको ९८ रनको लक्ष्य पिएनजीले २६.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । पिएनजीका लागि ओपनर टोनी उराले ६३ बल खेलेर नटआउट ३५ रन जोड्दा सेसे बाउले १८ रन र हिरी हिरीले १४ रन जोडेता पनि अरु ब्याट्सम्यानले खेलमा जम्न नसक्दा दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा टस जितेर फिल्डिङ रोजेको पिएनजीले पहिले ब्याटिङ गरेको युएई २६.२ ओभरमा ९७ रनमा अलआउट हुनपुग्यो । बलिङमा युएईका रोहान मुस्ताफाले २ विकेट लिए । युएईका लागि वृत्य अरविन्दले सबैभन्दा धेरै २६ रन जोडेता पनि युएईका पछिल्ला सात ब्याट्सम्यानहरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

युएईको ब्याट्सम्यानलाई चल्न नदिइ पिएनजीका रिले हेकुरेले ५ विकेट लिए । उनले ४.२ ओभरमा १ मेडन राख्दा १३ रन खर्चिए । चाड सोपरले ३ केट लिँदा चार्ल्स अमिनीले १ विकेट लिन सफल भए।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत अहिले दुबईमा नेपाल, पिएनजी र युएईबीच त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल भइरहेको छ । सिरिजको अन्तिम खेलमा नेपालले भोलि सोमबार युएईसँग खेल्दैछ । यसअघिका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गर्दा युएईविरुद्धको पहिलो खेलमा भने हार बेहोरेको थियो ।

यी तीनै टोलीबीच फागुन २५ गतेदेखि लिग–२ को अन्तिम सिरिज नेपालमा हुँदैछ । लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ । लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अङ्क जोडेर पहिलो स्थानमा छ भने ओमानको ४४ अङ्कका साथ दोस्रो स्थानमा छ । यी दुवै टिम विश्वकप छनोटमा पुगिसकेका छन् ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अङ्क जोडेको छ भने चौंथो स्थानमा रहेको अमेरिकाको समान खेलबाट ३५ अङ्क जोडेको छ । युएई ३१ खेलबाट ३१ अङ्क जोड्दै पाँचौ स्थानमा रहँदा नेपालभने ३१ खेलबाट ३० अङ्क जोड्दै छैटौं स्थान छ । नेपालले अझै पाँच खेल खेल्नबाँकी रहँदा अङ्क तालिकामा पुछारमा रहेको पिएनजीको ३२ खेल खेल्दा ९ अङ्कमात्र जोड्न सकेको छ ।

अब नेपालले लिग–२ को शीर्ष तीन स्थानमा पुग्न र एकदिवसीय मान्यता जोगाउन ३ खेल जित्नै पर्नेहुन्छ ।