फाइल तस्वीर
काठमाडौं — साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट भएको छ । आज भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो ।

आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता शेयर ३० हजार ९ सय तीन पटक खरिदबिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८ सय रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक एक सय ४२ दशमलव ४५ अङ्कले घटेको छ ।

आज बैंकिङ समूह १२ दशमलव ०८, विकास बैंक समूह २९ दशमलव ४०, वित्त समूह २९ दशमलव ६९, होटल तथा पर्यटन समूह ६८ दशमलव १० र जलविद्युत् समूह ५३ दशमलव ०४ अङ्कले घटेको छ ।

त्यस्तै, लगानी समूह एक दशमलव ०८, लघुवित्त समूह ८८ दशमलव ९०, म्युचुअल फण्ड शून्य दशमलव ०८, निर्जीवन बीमा समूह ६३ दशमलव ९५, व्यापार समूह सात दशमलव ८२ र अन्य समूह २७ दशमलव ७५ अङ्कले घटेको छ । आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै हिमालय डिस्टिलरी लिमिटेडको आठ करोड ४४ लाख १८ हजार चार सय ५२ रूपैयाँ बराबरको कारोबार भएको छ ।