फाइल तस्वीर
काठमाडौं — व्यवसायीहरुले बैंक ब्याजदर र डिजेलको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । आईतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मुलुकको वर्तमान वित्तीय अवस्था र समाधानका उपायबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरागर्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

देशको वित्तीय सुधार र वित्तय क्षेत्रमा देखिएका समस्याहरुको बारेमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाउनु भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो माग राख्दै उनीहरुले बैंकको ब्याजदर र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएर लगानी मैत्री वातावरण बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले बैंक ब्याजदर महँगो हुँदा लगानीको वातावरण बिग्रिएको र त्यसलाई महँगो डिजेलले थप मलजल गरेकोभन्दै प्रधानमन्त्रीलाई आफुहरुले ब्याजदर र डिजेलको मूल्य घटाउन अनुरोध गरेका बताउनुभयो ।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै सिएनआईका अध्यक्ष अग्रवालले ‘बजारमा वस्तुको माग छैन, माग नहुँदा बैंकको ऋण र ब्याजको चक्र बिग्रिएकोबारे प्रधानमन्त्रीलाई जानकारी गरायौं, यसका लागि लगानीको वतावरण बनाउनु पर्छ । लगानीको वातावरण बनाउन बैंक ब्याजदर र डिजेलको मूल्य घटाउनु पर्छ’— भनेका छौं भन्नुभयो । अध्यक्ष अग्रवालका अनुसार प्रधानमन्त्री प्रचण्डले वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताउनु भएको थियो ।

उक्त छलफलमा सरकारका मुख्य सचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरुको समेत सहभागिता रहेको थियो भने निजी क्षेत्रकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल लागयत बैठकमा सहभागिता रहेको थियो ।