काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा सरोकार पक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरलाई सँगैराखेर छलफल गर्नुभएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा आज नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिवलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुका साथै छाता सङ्गठनका प्रतिनिधि र आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गर्नुएको हो ।
प्रधानमन्त्रीले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याबारे सरोकारवालाहरुसँग छलफल गर्दै वर्तमान वित्तीय क्षेत्रको सुधार के कसरी गर्न सकिन्छ भन्नेबारेमा जिज्ञासा राख्नुभएको थियो ।

पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थाल्नुभएको हो । बैंक तथा वित्तीय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारेको भन्दै लघुवित्त नै खारेज गर्न ऋणीहरुले माग गर्दै आएका छन् ।
यता बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याज र आफ्नो वित्तीय अवस्था नागुक हुँदै गएकोले लिएको ऋण तिर्न सक्दैनौं मिनाहा गर्न सडक आन्दोलन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैंकहरुले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरुपनि सडक आन्दोलन उत्रिएका छन् ।

छलफलमा प्रधानमन्त्रीसँगै सरकारका मुख्यसचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष प्रकाशराज शर्मालगायतको अन्यको सहभागिता रहेको थियो ।