फाइल तस्वीर
सोल — प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको हो ।

कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिनुभएको थियो । उहाँले सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गर्नुभएको छ ।

बैठकमा राष्ट्रिय आर्थिक योजनाको कार्यान्वयन, वित्तीय सुधारका साथै पार्टीको साङ्गठनिक विषयमा पनि छलफल गरी त्यसलाई अनुमोदन गरिएको जनाइएको छ । बैठक आइताबारदेखि बुधबारसम्म चलेको थियो ।