साङ्केतिक फाइल तस्वीर
भरतपुर — भन्सार छलेर ल्याएको सुन र हीराको गहनासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट काठमाडौं लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित उनीहरुलाई आज बिहान १ बजे पक्राउ गरिएको हो ।

एक करोड १० लाख बराबरको सुन र हीराका गहनासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको डब्लुबी १२ एभी ५५६६ नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भन्सार छली ल्याएको गरगहना काठमाडौं लैजाँदै गरेको सूचनाका आधारमा खानतलासी गर्दा गहनासहित उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । बरामद सामान र पक्राउ परेका उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाइने छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयले ३३ बोतल लागुऔषध कोरेक्ससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ जमौलीस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० को कारमा ल्याउँदै गरेको अवस्थामा लागुऔषध पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ का ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।