फाइल तस्वीर
विराटनगर — प्रदेशको नामाकरणको विषयलाई लिएर आन्दोलनको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा (कफ्यु) जारी गरेको छ । भूगोलका आधारमा प्रदेशको नाम राख्ने भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशसभाले आज बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । आज बसेको प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र एकमत भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरु गर्न निषेध गरेको छ । प्रदेशको नामकरणको तयारी भएपछि प्रदेशका सबै जिल्ला प्रहरीले सतर्कता अपनाएको छ । अन्य क्षेत्रबाट प्रदेश राजधानी आउने सवारी जाँचमा पनि प्रहरीले कडा निगरानी राखेको छ ।