एन्फा बैठकको फाइल तस्वीर ।

काठमाडौं — अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा पदाधिकारीहरुबीच चरम विवाद उत्पन्न भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो ।

दुवै पक्षबीच विवाद हुँदा हात हालाहातको स्थितिमा वातावरण धुमिल भएको थियो । विवादले भौतिक संरचनामा समेत क्षति पुगेको छ । एन्फाको २१ सदस्यीय कार्यसमितिका दश जना सदस्यले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको मुख्य एजेण्डा बनाउन माग गरेपछि अध्यक्ष पङ्कजविक्रम नेम्वाङले उक्त विषयलाई एजेण्डा नबनाउन आग्रह गरेका थिए ।

कार्यसमितिको बुधबार सुरु भएको बैठकमा नेम्वाङले आफूले अध्यक्षको अधिकार प्रयोग गरेर यसलाई एजेण्डामा समावेश नगरेको बताएका थिए । अध्यक्षको आग्रहप्रति असन्तुष्ट पक्ष सहमत हुन सकेनन् । विवाद बढ्दै जाँदा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र दावा लामाबीच भनाभन हुँदा कार्यकक्षको टेवल माथि रिस पोखियो । भौतिक संरचना तोडफोड गर्नेक्रममा टेवलको सिसासमेत फुटेको छ ।

आफूहरुको मागअनुसार महासचिव र कोषाध्यक्षको बर्खास्तीलाई बैठकको एजेण्डा नबनाएको भन्दै १० जनाले सदस्यहरुले बैठकमा अनुपस्थिति रहेको देखाउन उपस्थिति पुस्तिकामा हस्ताक्षर नै गरेनन् । असन्तुष्ट पक्षका १२ जनामध्ये मनिष जोशी देश बाहिर छन् भने सरिला श्रेष्ठ संस्थापनतिर उभिएकी छन् । बैठकमा उपस्थितमध्ये १०÷१० जना बाँडिएका थिए ।

असन्तुष्ट पक्षको बैठकले अध्यक्ष अल्पमतमा परेको भन्दै बैठकको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् । संस्थापन पक्षले भने अध्यक्ष नेम्वाङसहित १० जनाको सहमति भएको भन्दै बैठक चलाएका छन् ।