फाइल तस्वीर
मङ्गलबारे — इलाम कारागारभित्र जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि समिति नै गठन गरेर जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको हो ।

सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो ।

सो समितिले काम थालिसकेको संयोजक थापाले बताउनुभयो । भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने साथै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ ।

कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडियो बाहिरिएको हो । इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शङ्का गरिएको छ ।

जेलर सुमित मगरले उक्त भिडियो कारागारभित्रकै रहेको स्वीकार गर्नुभयो । उहाँले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका बताउनुभयो । कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन् ।