फाइल तस्वीर
विराटनगर — प्रदेश एकको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण गर्ने विषयमा छलफल हुने भएको छ । अघिल्लो कार्यकालमा पटक पटक प्रयास गर्दापनि प्रदेशको नामाकरण हुन सकेन । प्रदेशसभाको पहिलो अधिवेशनले नामाकरण गर्ने तयारी रहेको बताइएको छ ।

देशका सात वटा प्रदेशमध्ये छ वटा प्रदेशहरुले पहिलो कार्यकालमै प्रदेशहरुको नामाकरण गरिसेका छन् । तर प्रदेश एकको नामाकरण गर्ने विषयमा धेरै विवाद उत्पन्न भएपछि प्रदेशको नाम राख्ने काम अहिलेसम्म हुन सकेको छैन ।

चालु पहिलो अधिवेशनमै प्रदेशको नाम राख्ने गृहकार्य भएको छ । आज बुधबार हुने प्रदेशसभाको बैठकमा नामाकरणको प्रस्ताव पेश गर्ने तयारी रहेको छ । प्रदेशसभाको नाम यस अघि ‘कोशी’ राख्ने भन्ने सहमति नजिक पुगेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनले प्रदेशको नामाकरण गर्ने प्रस्ताव आजको बैठकमा पेश हुने बताइएको छ । विवाद उत्पन्न नहोस् भन्ने अभिप्रायले नामाकरणको प्रस्तावलाई गोप्य राखिएको छ ।

‘कोशी’ नाम राख्ने विषयमा दलहरुबीच सहमति भइसकेको बताइएको छ । सबै दलको समर्थनमा प्रदेशसभा बैठकबाट प्रदेशको नाम पास गर्ने सरकारले रणनीति बनाएको छ । अघिल्लो कार्यकालमा प्रदेशको नामकरणको विषयमा टुङ्गो लगाउन दलहरुबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन ।

नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने सहमति भएको बताइएको छ ।

नेपालको संविधानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । कुल ९३ जना सांसद् सङ्ख्या रहेको यस प्रदेशमा नामको निर्णय गर्न ६३ जना सांसदको समर्थन आवश्यक पर्दछ । अहिले प्रदेशसभामा एमालेका ४० जना, नेपाली काङग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ जना, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।

सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने अवस्था छैन । त्यसैले सहमतिमा प्रदेशको नामकरणको टुङ्गो लगाउने तयारी भएको बताइएको छ ।