फाइल तस्वीर
दाङ — लुम्बिनी प्रदेशसभाको बैठक आज बस्नेभएको छ । प्रदेशसभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । झण्डै एक महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकसँगै साना दलहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएका छन् ।

एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन गरेका लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने जानकारी गराउने बताउनु भएको छ । यद्यपि, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गरेको थिए । लुम्बिनी प्रदेशसभामा लोसपाका तीन जना र नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद रहेका छन् । यी सात जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिंदा एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ ।

केन्द्रीय राजनीतिमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्न थालेको छ । लुम्बिनी प्रदेशमा आज आठ दलको बैठक बस्दैछ । यो प्रदेशमा एमाले नेतृत्व सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास स्वरुप आठ दलहरुबीच बैठक बस्न लागेको बताइएको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेका २९ जना, काङ्ग्रेसका २७ जना, माओवादी केन्द्रका १० जना, राप्रपा र नागरिक उन्मुक्तिका चार÷चार जना, जसपा, लोसपा र जनमतका तीन÷तीन, जना नेकपा एकीकृत समाजवादी र जनमोर्चाका एक÷एक र दुई जना स्वतन्त्र सांसद छन् ।