पत्रपत्रिकाबाट

काठमाडौं — अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा थिए ।

सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार पाँच सय फिटको उचाइमा एक हजार फिटको दूरी (भर्टिकल सेप्रेसन) कायम गरी अवतरणको पालो कुरिरहेका थिए ।

होल्डमा रहेका जहाजमध्ये बुद्ध एयरको जहाज ११ हजार पाँच सय फिटमा, नेपाल वायुसेवा निगमको जहाज १२ हजार पाँच सय फिटमा र कतार एयरवेजको जहाज १३ हजार पाँच सय फिटमा रहेका थिए ।

पहिलो अवतरण गर्ने पालो बुद्व एयरको थियो। विमानस्थलमा रहेका एटीसी (एयर ट्राफिक कन्ट्रोलर)ले अवतरणको अनुमति कसैलाई दिएको थिएन ।

अवतरण अनुमतिको पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले निगमसँगको दूरी एक हजार फिटबाट दुई सय फिटनजिक बनाएपछि दुर्घटनाको सम्भावना बढ्न पुगेको थियो ।

अनुमति र बिनाकुनै जानकारी एक्कासि कतार एयरवेजको जहाज १२ हजार आठ सय फिटमा आएपछि निगमको ट्राफिक कोलिजन एभोडेन्स सिस्टम (टिकास)मा अलर्ट आएको र निगमका पाइलटले एटीसीलाई रिपोर्ट गरेपछि कतारले जहाज थप उचाइमा लगेको थियो । (आजको गोरखापत्र दैनिकबाट)