फाइल तस्वीर
काठमाडौं — आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौंथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो ।
९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै २९ रन बनाए । त्यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २५ रन बनाए । मलेसियाका तर्पmबाट १४ रन एक्सट्रा उपहार भयो ।
यसअघि मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए ।
ओपनर हैरिल हरिसनले १२ रन जोडे । पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रनको साझेदारी गरे । यहि नै मलेसियाका लागि बलियो साझेदारी बन्यो ।
छैटौं ब्याटर मोहमम्मद स्याहिर स्यामिलले १२ रन बनाए । अन्य कुनै ब्याटर दोहोरो अङ्क बनाउन क्रिजमा टिक्न पाएनन् ।
नेपालका लागि स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए ।
मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १ विकेट लिए ।
नेपालका लागि यो लगातार चौथो जित हो । अब नेपालले पाँचौं र अन्तिम खेल हालसम्मकै बलियो प्रतिस्पर्धी मानिएको यूएईसँग बिहीबार खेल्नेछ ।