फाइल तस्वीर
काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन मिति नजिकिदैगर्दा आचारसंहिता लागू गर्ने भएको छ । आयोगले भोलि बुधबारदेखि आचारसंहिता लागू गर्न लागेको हो ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलि बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिनुभयो ।

यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त आचारसंहिता, २०७९ मिति २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।’

आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली आज(मङ्गलबार) प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारको अन्तिा नामावली प्रकाशनपछि राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ ।

संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ ।