फाइल तस्वीर
काठमाडौं — आईसीसी यू–१९ विश्वकप एसिया छनोट चरणको आफ्नो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यूएईमा जारी छनोट चरणको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड–२ मा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

छनोट चरणका तीन खेल खेलेको नेपालले सबै तीन वटै खेल जितिसकेको छ । नेपाल आज चौथो जितको खोजिमा मैदानमा उत्रिदैछ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले हराउन सफल भएको थियो । यसैगरी तेस्रो खेलमा हङकङलाई ९ विकेटले पाखा लगाउँदै लगातार तीन खेल जितेको नेपाल आज चौंथो खेल पनि जित्ने रणनीतिमा रहेको छ ।

मलेसियाले यस अघि खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ । नेपालले आज मलेसियालाई हराउन सके लगातार चौंथो खेलमा बाजिमार्ने छ ।

यसैगरी आजै आईसीसी यू–१९ विश्वकप एसिया छनोट चरण अन्तर्गत नै अर्को दुई खेल हुनेछन् । जसमा यूएई र कुवेत तथा सिङापुर र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

एसिया छनोट चरण अन्तर्गत युएईमा भएको खेलमा नेपाल र यूएईले लगातार तीन खेल जित्दै अपराजित यात्रा गरिरहेका छन् । दुवै टिमले समान ६ अङ्क जोडेका छन् । यद्यपि, रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।

राउण्ड रिन लिग अन्तर्गत भइरहेको छनोट प्रतियोगितामा नेपाल र यूएईबीचको अन्तिम खेल बिहीबार हुनेछ । नेपाल र यूएई विश्वकपमा पुग्ने होडमा छन् । नेपालले आज मलेसिया र बिहीबार हुने युएईसँगको खेलमा जित निकाल्न सके जारी प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलङ्कमा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।