फाइल तस्वीर
युएई — आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटको आज सोमबार भएको खेलमा नेपालले जित निकालेको छ । नेपालले आज भएको खेलमा हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकाल्न सफल भएको हो ।

युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए ।

छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे । नेपालले २६ रन जोड्दा छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाउन सफल हुँदा ओपनर अर्जुन कुमालले १६ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६.३ ओभरमा १२० रनमा अल आउट हुन पुगेको थियो । हङकङका डानिएल मोर्गन मपले १ विकेट लिंदा पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाए । मोहम्मद अलियान जाहिरले २९ रन बनाए । हङकङका लागि पाँचौं विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए ।

हङकङलाई अलआउट गर्न नेपालका हेमन्त धामी, सुबास भण्डारी र दिपेश कँडेलले शानदार बलिङ गरे । हेमन्तले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै किफायती बलिङ गरेका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडन नै राख्दै जम्मा १० रन २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।