फाइल तस्वीर
हेटौंडा — बागमती प्रदेशसभाले प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा बनेको विधेयक २०७९ तथा स्थानीय तहको सेवाको गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरिएको हो ।

आईतबार विधेयक व्यवस्थापन समितिले उक्त विधेयकका विषयमा दफावार छलफल गरेपछि दुवै विधेयक प्रदेशसभामा पेस गरिएको थियो । प्रदेशसभामा सभामुख भूवनकुमार पाठकले बैठकमा निर्णयार्थ पेस गरेका दुवै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले सभाबाट स्वीकृत गरेको थियो । 

सो सभाले विधेयक स्वीकृत गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रमाणीकरण भएपछि तत्काल कार्यावन्यनमा आउने बताइएको छ । प्रदेश निजामती सेवा नभएका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको थियो ।