फाइल तस्वीर


काठमाडौं — बालिका बलात्कारको मुद्दामा थुनामा रहेका कलाकार पूर्णविक्रम (पल) शाह रिहा भएका छन् । उच्च अदालत पोखराबाट हिजो सफाई पाएर कलाकार शाह आज थुनामुक्त भएका हुन् ।

नाबालिक बलात्कारको आरोप लागेपछि एक वर्षअघि अर्थात् फागुन १५ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा हुन पुगेका छन् । कलाकार शाहलाई परिवारका सदस्यले जिम्मा लिएका हुन्। उनीहरूले खादा र माला लगाएर पलको स्वागत गरेका थिए।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन्।

सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए। समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।