फाइल तस्वीर
काठमाडौं — आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले हङकङविरुद्ध खेल्दैछ । नेपाल हङकङलाई हराएर लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिदै छ । यूएईको अज्मानमा नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार दिउँसो ११:४५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा सिङ्गापुरलाई ९६ रनले हराएकोे नेपाली युवा टिमले दोस्रो खेलमा कुवेतमाथि २४३ रनको फराकिलो अन्तरले हराएको थियो । नेपाल आज लगातार तेस्रो जितको खोजिमा छ ।

कुवेतविरुद्ध नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । बलिङमा आकाश चन्दले ६ विकेट लिएका थिए । हङकङविरुद्ध पनि नेपाल सोही लय कायम राख्न चाहन्छ ।

आज यही समयमा यूएईमै नेपाली सिनियर क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै छ ।

दुई खेलबाट चार अङ्क जोडेको नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा छ भने आयोजक राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) समान खेलबाट समान अङ्कसहित शीर्ष स्थानमा छ ।

प्रतियोगितामा नेपाल, यूएई, हङकङ, सिङ्गापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपका लागि छनोट हुनेछ ।

नेपाल पछिल्ला आठ वर्षयता यू–१९ विश्वकपमा छनोट हुन सकेको छैन । आजको खेलमा नेपालले हङ्कङलाई हराउन सके विश्वकप खेल्ने सम्भावना बलियो हुनेछ ।