फाइल तस्वीर
दमौली – विस्तार भैरहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड काम गर्न दैनिक चार घण्टा यातायात बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम छिटो छरितो रुपमा गर्न १० दिनसम्म दिनको ४ घण्टा बन्द गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक सूचना जारी गर्दै मुग्लिनदेखि पोखरा सडक विस्तार आयोजनाको उक्त क्षेत्रमा सडक बन्द गरी निर्माण कार्य अगाडि बढाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरैले बताउनुभयो ।

उक्त राजमार्ग विस्तारका क्रममा ठुलो मात्रामा ब्लक कटिङको कार्य भैरहेको छ । सडक विस्ताको कामलाई गतिदिन यातायात सञ्चालन भैरहँदा काम गर्न समस्या भैरहेको हुँदा दश दिनको लागि दैनिक चार घण्टा यातायात आवतजावतमा रोक लगाइएको छ । मनसुन सुरु हुनु अगावै कटिङको काम सम्पन्न गर्ने आवश्यक बन्दोबस्त मिलाउन योजनालाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । आबुँखरैनी ४ डम्पिङ्गमा गत वर्ष पहिरोका कारण भासिएको सडक हालसम्म एकतर्फी मात्र सञ्चालन भइरहेकाले यस वर्ष मनसुन सुरु हुनु पुर्व नै सडक मर्मत गर्न सडक डिभिजन दमौलीलाई अनुरोध गरिएको समेत उनले बताए ।

पुथ्वी राजमार्ग सडक खण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । तनहुँ क्षेत्रमा ८० किलोमिटर सडक खण्डलाई आँबुखैरनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडक खण्ड र जामुनेदेखि पोखरासम्मको ३९ किलोमिटर सडक खण्ड दुई भागमा बाँडेर निर्माण कार्य भइरहेको छ ।

अहिले सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली , पुलहरू र डाइभर्सन बनाउने लगायतका कामहरु भइरहेको छ । सडक खण्डमा पर्ने केही घरहरु हटाउने काम समेत सुरु भएको छ । सो खण्डमा पर्ने रुख काट्ने काम सम्पन्न भइसकेको र सडक खण्डमा पर्ने विद्युतीय पोलहरु सार्ने विषयमा पनि प्राधिकरणसँग समवन्य भइरहेको आयोजनाले जनाएको छ ।