फाइल तस्वीर
काठमाडौं – सरकारले दश वर्षे माओवादी जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले आईतबार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा राष्ट्रिय शहीद घोषणा गर्ने जानकारी गराउनुभएको हो ।
नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने जनयुद्धका शहीदहरुलाई उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।
आज फागुन १४ गते जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस भएको उल्लेख गर्दै माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारले जनयुद्ध लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरिरहेको बताउनुभयो ।
वि.सं. २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरू नेपालको राष्ट्रिय गौरव भएकाले उनीहरूको उच्च सम्मान गर्नुपर्छ भन्नेमा सरकार रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
सो अवसरकार बोल्दै प्रधानमन्त्री शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गर्न सत्य निरूपण तथा मेलमिलापसम्बन्धि विधेयक अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो । ‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुङ्गोमा पुग्छ’ – प्रधानमन्त्री प्रचण्डको दावी थियो ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा शहीद तथा बेपत्ता परिवारको तर्फबाट बोल्दै अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरिका शहीद र बेपत्ता परिवारलाई सम्मान गरेको प्रति खुसी व्यक्तगर्नुभएको थियो ।