फाइल तस्वीर


काठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारणसभा आजदेखि सुरु हुँदैछ । आईतबार र सोमबार दुई दिन हुने वार्षिक साधारणसभा सुर्खेतमा हुन लागेको हो ।

गत पुसको दोस्रो साता पोखरामा बसेको क्यानको कार्यसमिति बैठकले वार्षिक साधारणसभा सुर्खेतमा गर्ने निर्णय गरेको थियो । दुई दिनसम्म चल्ने साधारणसभामा क्यानको वार्षिक कार्यक्रमका साथै बजेट र आर्थिक प्रतिवेदन पेश हुनेछ । सो साधारणसभाले आर्थिक प्रतिवेदन र वार्षिक कार्यक्रमलाई अनुमोदन गर्नेछ ।

साधारणसभाले नेपाल टी–२० को मुख्य साझेदारका रुपमा रहेको सेभेन थ्री स्पोर्टससँगको सम्झौता पनि अन्त्य गर्ने औपचारीक निर्णय गर्न सक्ने जनाइएको छ। गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी–२० लिग विवादीत बनेको थियो। लिगमा खेलाडीले तलब नपाउनेदेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भयो।

क्यानले सेभेन थ्रीबाट लाइसेन्स ‘फि’ को रकमदेखि पुरस्कार रकम पाउन बाँकी रहेका विषयमासमेत साधारणसभामा छलफल हुने र सोही सभाबाट निर्णय गर्ने तयारी जनाएको छ ।