वीरेन्द्रनगर — जैविक विविधताको खानी मानिएको कर्णालीमा दिगो विकास संरक्षण नीति बन्नुपर्नेमा जोड दिईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘राष्ट्रिय विविधता संरक्षण योजना तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ का सहभागीले मुलुकका सात प्रदेशमध्ये कर्णाली प्रदेश जैविक विविधताका हिसाबले उत्कृष्ट भूमि भएको औँल्याए । गोष्ठीमा वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि हेमलाल अर्यालले विश्व जैविक विविधता संरक्षण लक्ष्य ३ अनुरुप नेपालको समावेशी तथा प्रभावकारी जैविक विविधता संरक्षण राष्ट्रिय योजना तयारीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

जलवायु परिवर्तन र जैविक विविधता संरक्षणमा पक्ष राष्ट्रका रुपमा नेपाल रहेको बताउँदै उहाँले नेपालले कुल भूभागको ४५ प्रतिशत संरक्षण गर्नुपर्ने प्रतिबद्धता गरेको जनाउनुभयो । गोष्ठीमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा पुष्पराज आचार्यले जैविक विविधता संरक्षण हामी सबैका लागि आवश्यक भएको बताउनुभयो । सामुदायिक वन प्रयोगशाला बन्न सक्ने बताउनुभएका उहाँले संरक्षण भावना नभई जैविक विज्ञान भएको जनाउनुभयो । प्राध्यापक डा आचार्यका अनुसार जैविक विविधताको संरक्षणबाट कर्णालीसहित सिङ्गो मुलुकलाई आर्थिक समृद्धिमा सहयोग पुग्दछ । तसर्थ, मानव र वन्यजन्तुबीचको पारस्परिक सम्बन्धले समग्र अस्तित्व दीगो बनाउन संरक्षण तथा सम्वद्र्धनको अभियानलाई अगाडि बढाउनै पर्दछ ।

मन्त्रालयअन्र्तगत कर्णाली प्रदेशका सचिव मोहनदेव जोशीले स्थानीय समुदायको अग्रसरतामा जैविक विविधता संरक्षण हुने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘कर्णालीमा आज पनि ३८ दशमलव ५७ प्रतिशत वन क्षेत्र संरक्षित अवस्थामा छ । यहाँको प्राकृतिकस्वरुप बिग्रन नदिने हो भने पारिस्थितिक प्रणालीको पनि संरक्षण हुन्छ र मानव अस्तित्व दिगो बन्न सक्छ ।’

 गोष्ठीका सहभागीले प्राकृतिक स्रोतले सम्पन्न मानिँदै आएको कर्णाली प्रदेश जैविक विविधताको अपार सम्भावना भएकाले तीनै तहका सरकारले स्थानीय समुदायको अधिकारमा आधारित कार्यक्रम तर्जुमा गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र संरक्षणमा योगदान पुग्ने सुझाव दिनुभएको थियो । यसरी अगाडि बढ्न सकेमा मात्र नेपाल जैविक विविधताको देश भनेर चिनिएको विरासतलाई कायम राख्न सक्ने उहाँहरुको भनाइ थियो । रासस