काठमाडौं — हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गतेदेखि सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आज शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ।

हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार हुने बताइएको छ । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सिभिल बैंकका सेयरधनीहरुले १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ०.२ कित्ता सेयर प्राप्त गर्नेछन् ।

एकीकृत कारोबारपश्चात् हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ बन्नेछन् । साथै फैसल एन लाल्टिन, सुनिलबहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । साथै, मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको चुक्ता पुँजी २३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी कूल पुँजी ३४ अर्ब रुपैयाँ पुग्दै छ । त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कूल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा १८९ वटा भएको छ ।