फाइल तस्वीर
काठमाडौं — राष्ट्रपतिको लागि उम्मेदवार चयन गर्न राजनीतिक दलहरुबीच आज अन्तिम दिन वार्ता र छलफल हुने भएको छ । नयाँ राष्ट्रपति चयन गर्न भोलि शनिबार उम्मेदवारी दर्ता गर्ने दिन भएकाले आज दलहरुले साझा उम्मेदवार चयन गर्न वार्ता र छलफलमा जुट्ने भएका हुन् ।
राजनीतिक दलका शीर्ष नेताहरुबीच आज हुने भेटवार्ता नै निर्णायक वार्ता हुँदैछ । सत्ता गठबन्धनमा राष्ट्रपतिको विषयलाई लिएर विवाद उत्पन्न भएता पनि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पहिलो चरणमा निर्णायक वार्ता हुने बताइएको छ ।
सत्ताधारी यी दुई दलका शीर्ष नेताहरुबीचको वार्तापछि प्रधानमन्त्री प्रचण्डले नेपाली काङ्ग्रेसका सभापतिसँग वार्ता गर्नुहुने छ । त्यसपछि आज नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका नेताहरुको संयुक्त बैठक बस्दैछ । उक्त बैठक राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न बस्न लागेको बताइएको छ ।
राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न हिजो अपरान्ह नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच बैठक बसेको थियो । उक्त तीन दलीय बैठक एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदावर बनाउन सहमत भएको बताइएको छ ।
राष्ट्रपतिमा नेपाली काङ्ग्रेस र एमालेले दावी गर्दै आएको अवस्थामा तीन दलीय बैठकबाट एकीकृत समाजवादीका अध्यक्षको नाममा सहमति जुटेपछि राष्टपति पदको निर्वाचन पेचिलो बन्ने देखिन्छ । त्यसो त एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्रको संरक्षण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको र राष्ट्रपति आफ्नो लागि गौण भएको बताउनुभएको थियो । तर, एमालेले नेपाललाई पार्टी एकता गर्दै राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव राखेपछि एसका अध्यक्ष नेपाल राष्ट्रपतिका लागि लालायित देखिनु भएको छ । राष्ट्रपतिमा नेपाललाई काङ्ग्रेसले स्वीकार गर्न सक्ने अवस्था अहिलेसम्म देखिंदैन ।
सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार छान्न एमाले नमानेपछि सत्तागठबन्धन धरमराएको बेला निर्वाचन पूर्वको पाँच दलीय गठबन्धन ब्युताउन नेताहरु सक्रिय देखिएका छन् । पूरानो पाँचदलीय गठबन्धनका नेताहरु एमालेलाई राष्ट्रपति नदिनेमा सहमत भएको देखिन्छन् । उता जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि प्रधानमन्त्रीले भन्नुभए जस्तै राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा सहमत छन् ।
संविधान र गणतन्त्र रक्षाको लागि पूरानो गठबन्धन ब्युँताउने भन्ने शर्तमा नेपाली काङ्ग्रेसबाट राष्ट्रपतिको लागि साझा उम्मेदवार छनौट हुनसक्ने सम्भावनालाई नकार्न सकिने अवस्था छैन । तर एमाले अध्यक्ष केपी शर्मा ओली अन्तिम समयमा कुनै चमत्कारी निर्णय गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिलाई सिध्याउने षडयन्त्रमा नलाग्लान भन्न सकिन्न । आफ्नो स्वार्थको लागि कुनैपनि निर्णय गर्न माहिर एमाले अध्यक्ष ओलीले अन्तिम समयमा पासा पल्टाएर काङ्ग्रेसलाई पनि वाङ बनाउन सक्ने अवस्था पनि नआउला भन्न सकिन्न ।
नेपालको राष्ट्रापति निर्वाचनलाई लिएर यतिबेला अमेरिका, युरोपेली सङ्घ र भारतीय खुफिया एजेन्सीहरुको सक्रियता गोप्य रुपमा बढ्दो छ । राजनीतिक दलका शीर्ष नेताहरुलाई विभिन्न कोणबाट दवाव दिंइदै आएको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ । शीर्ष नेताहरुको भेटघाट र बैठक चलिरहँदा उनीहरुका निकट नेताहरु पनि गोप्य रुपमा सक्रिय छन् । राष्ट्रपति निर्वाचनले देशको राजनीतिलाई नै कता तिर लैजान्छ भन्ने स्वयम् नेताहरुले अलमतमा रहेको देखिन थालेको छ ।