फाइल तस्वीर
काठमाडौं – नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रमअनुसार अन्तिम मतदाता नामावली आज सार्वजनिक गर्न लागेको हो ।
राष्ट्रपति पदका लागि भोलि १३ गते शनिबार उम्मेदवारी दिने र फागुन २५ गते बिहीबार निर्वाचन गर्ने गरी निर्वाचन आयोगले यस अघि नै कार्यतालिका सार्वजनिक गरेको थियो । आयोगले १० गते बुधबारका दिन मतदाता नामावली सार्वजनिक गरेको थियो । सार्वजनिक नामावलीमाथि बिहीबार मध्याह्नसम्म दाबी विरोधको उजुरी दिने समय तोकिएको थियो । निर्वाचन आयोगका अनुसार मतदाताको नामावलीमा दावी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म जम्मा ५ वटा निवेदन परेको थियो ।
नामावलीमा दावी विरोध गर्न परेको निवेदनमा ४ वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिनुभएको छ । मतदाता नामावलीमा दावी विरोधका लागि बिहीबार मध्याह्न १२ बजेसम्मको समय तोकिएको थियो। दावी विरोधको समय सकिएकोले सोही अनुसार आज शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।
आयोगका अनुसार कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । अरुणकुमार चौधरी फौजदारी अभियोगमा जेल परेका थिए । उनलाई फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि जेल मुक्त गएकाले मतदाता नामावलीमा उनको नाम समावेश गरेको छ ।
यसैगरी अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका साथै सातै वटा प्रदेशसभाका सदस्यहरु मतदाता रहेका छन् । राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सर्वजनिक गरेको मतादाता नामावलीमा सङ्घीय संसद्का ३ जना सांसद बाहेकको अरु सबै सांसदहरुको नाम उल्लेख गरिएको थियो ।
राष्ट्रपति निर्वाचनको मतदातामा सङघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ३३१ जना र सात वटै प्रदेशसभाका ५५० सांसद गरी कूल ८८१ जना मतदाताको नाम सार्वजनिक भएको थियो । प्रकाशित मतदाता नामावलीमा सङघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका ३ सदस्यको नाम समावेश गरिएको छैन ।
मतदाता नामावलीमा नाम समावेश नभएकाहरुमा नेपाली काङ्ग्रेसका सांसद टेकबहादुर गुरुङ, नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भएका प्रतिनिधिसभाका तत्कालीन सदस्य रवि लामिछाने र नागरिक उन्मुक्ति पार्टीका निलम्वित सांसद् लक्ष्मणकुमार चौधरी हुन् । सांसद चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ ।