फाइल तस्वीर
इस्लामावाद — पाकिस्तानी प्रहरीले देशको उत्तरपश्चिमी लक्की मारवत जिल्लामा भएको मुठभेडमा छ जना आतङ्ककारीलाई मारेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएअनुसार प्रहरीको काउन्टर टेररिज्म विभागका कर्मचारीले बिहीबार बिहान उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको डोडीवाला क्षेत्रमा गुप्तचर सूचनाको आधारमा छापा मारेका थिए ।

उनीहरूलाई आत्मसमर्पण गर्न भनिएपछि आतङ्ककारीले प्रहरीमाथि गोली हानेका थिए । सो गोली हानहानमा छ आतङ्ककारी घटनास्थलमा मारिएका छन्। मारिएकाहरू प्रतिबन्धित आतङ्कवादी सङ्गठन तेहरिक–ए–तालिबान पाकिस्तानका सदस्यको रूपमा चिनिएको प्रहरीले जनाएको छ । प्रहरीले आतङ्ककारीहरूको कब्जाबाट ठूलो मात्रामा गोलाबारुद, स्वचालित बन्दुक र ह्यान्ड ग्रेनेडहरू पनि फेला पारेको छ ।

आधिकारिक स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार सुरक्षा बलहरूले बुधबार राति देशको उत्तरपश्चिमी आदिवासी जिल्ला उत्तर वजिरिस्तानमा पनि एक अपरेशन सञ्चालन गरेको थियो । त्यसक्रममा यस क्षेत्रमा सेनामाथि आक्रमण गर्ने योजना बनाएका तीन आत्मघाती बम आक्रमणकारी सहित छ जना आतङ्ककारीलाई गिरफ्तार गरिएको थियो ।