फाइल तस्वीर

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच आज बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा यस्तो आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई यस विषयमा आफु एकदमै सकारात्मक भएता पनि नेपाली काङ्ग्रेसलगायत अन्य दलसँग छ्लफल गर्नुपर्ने बताउनु भएको बताइएको छ । नयाँ राष्ट्रपतिको उम्मेदवार तोक्ने दुई दिन बाँकी रहँदा निर्वाचन पूर्वको गठबन्धनका दलहरुबीच आज साँझ बैठक बस्दैछ । आज साँझ बस्ने गठबन्धनको बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल सहभागी हुनेभएका छन् ।

बैठकमा राष्ट्रपतिको विषय र पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउने विषयमा छलफल हुने बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको बैठकमा निर्वाचन पूर्वको पाँच दलीय गठबन्धन ब्यूँताउने अनौपचारिक सहमति भएको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पार्टी एकीकरण गर्ने शर्तसहित एमालेले राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव राखेको छ । तर नेपालले ओलीको यो प्रस्तावका विषयमा सार्वजनिक रुपमा कुनै प्रतिक्रिया व्यक्त गर्नुभएको छैन । अध्यक्ष नेपाल ओलीको प्रस्ताव पछि राष्ट्रपतिमा महत्वाकाङ्क्षा बढेको देखिन्छ । यसैकारणले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा आज भएको छलफलमा आफुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन आग्रह गर्नुभएको हो ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपतिको उम्मदवारी दर्ता गर्न दुई दिनमात्र बाँकी रहँदासम्म एमाले र काङ्ग्रेसबाट को को उम्मेदवार बन्नेभन्ने नाम तय भैसकेको छैन । सम्भवत भोलि साँझसम्ममा यी दुवै पार्टीले उम्मेदवारको निक्र्योल गर्नेछन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालको आज साँझ बस्ने बैठकले उम्मेदवार छनोट गर्नसक्ने स्रोतको भनाइछ ।