प्रतिकात्मक तस्वीर

वीरेन्द्रनगर — कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरीले जनाए अनुसार आज बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नेमा दार्चुलाको अपी नगरपालिका–६ घर भएका अन्दाजी २६ वर्षीय कबिन्द्र वि.क रहेका छन् । उनी प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दीको कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत थिए । वि.कले आफ्नै टाउकोमा एसएलआर गोली हानी आत्माहत्या गरेको प्रहरीको भनाई रहेको छ ।

वि.क राती १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए । डिउटी खटिएको समयमा उनले आफैले बोकेको एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको बताइएको छ ।