काठमाडौं — पछिल्लो केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार आज बुधबार भने १ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले वृद्धि हुँदा २०८० दशमलव ३८ अङ्कमा बन्द भएको हो । आज बुधबार लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १ दशमलव २५ प्रतिशतले बढेको छ ।

लघुवित्तले जथाभावी लगानी गरेको कर्जा असुल हुन नसक्ने अवस्थामा रहेको समाचार आएसँगै बुधबार सबै उपसूचक वृद्धि हुँदा पनि लघुवित्त उपसूचकमा भने गिरावट भएको छ । लघुवित्त उपसूचक १ दशमलव ४ प्रतिशतले गिरावट भएको छ ।

बुधबार नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब ८० करोडमा सिमित भएको छ । सोमबार नेप्सेमा १ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेको हो । बुधबार नेप्सेमा हिमालयन डिस्टिलरीको १३ करोडको कारोबार हुँदा जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख र ग्लोबल आईएमई बैंकको ४ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा बुधबार २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ४९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ । जमध्ये लिवर्टी इनर्जीको सेयरमूल्य ९दशमलव ८० प्रतिशतले वृद्धि हुँदा छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य ९ दशमलव ५६ प्रतिशत र दोर्दी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।

यता आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७ दशमलव ८५ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ६ दशमलव ९९ प्रतिशतले गिरावट भएको छ ।