फाइल तस्वीर
काठमाडौं — काठमाडौंको पूर्वोत्तर क्षेत्रस्थित सुन्दरशैल शिवपुरी पर्वतको काखमा रहेको कागेश्वरी धामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न महायज्ञ आयोजना गरिने भएको छ । यही फागुन २१ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत महायज्ञ एवं विराट धार्मिक पर्यटन महोत्सव आयोजना गरिने कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समितिले जनाएको छ ।

आराध्यदेव पशुपतिनाथ मन्दिरबाट १३ किमी दूरीमा रहेको यो पर्यटकीयस्थल प्राकृतिक रुपमा पनि आकर्षक छ । कागेश्वरी महादेव मन्दिर रहेको यो क्षेत्र चौँसठ्ठी शिवलिङ्गमध्येको एक हो । सत्ययुगमा भगवान् शिवले तपस्या गर्नुभएको यस क्षेत्रको प्रचारप्रसारका लागि महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मणिराम अर्यालले राससलाई जानकारी दिनुभयो । शिवजी तपस्या गर्न आउँदा कागेश्वरी नदीलाई बोलाउनु भएको पौराणिक मान्यता छ ।

कागेश्वरी गङ्गा नदीकै अर्को रुप भएको विश्वाससमेत गरिन्छ । नेमुनिलेसमेत तपस्या गर्नुभएको यो क्षेत्र ऋषिमुनिहरुको योग र तपस्यास्थलका रुपमा पनि प्रसिद्ध छ । व्योमगङ्गा भनिने यो नदीलाई स्कन्द पुराणमा गङ्गा, जमुना र भागिरथीजत्तिकै पवित्र मानिएको छ । साउन शुक्ल पूर्णिमामा मनाइने श्रावणी मेला, भाद्र शुक्ल अष्टमीमा मनाइने कागेअष्टमी मेला लगायतका दिनमा यहाँ लाखौँ भक्तजन आएर स्नान गर्छन् ।

महायज्ञ एवं धार्मिक पर्यटन महोत्सवमा विभिन्न कलाकारले भजन एवं भक्ति सङ्गीतको प्रस्तुति गर्ने कार्यक्रम पनि रहेको छ । स्थानीयस्तरका विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने महायज्ञको अन्तिम दिन लाख बत्ती बाल्ने कार्यक्रम पनि रहेको आयोजक समितिले जनाएको छ । विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य वासुदेव घिमिरेले कथावाचन गर्नुहुने महायज्ञबाट बचेको यज्ञशेषले कागेश्वरी धामको विस्तृत परियोजना प्रस्ताव निर्माण गरिने समितिका सचिव पुष्कर प्याकुरेलले बताउनुभयो ।