काठमाडौं — बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेश हुने सम्भावित कार्यसूची रहेको छ ।

यद्यपि बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय गर्ने छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको अघिल्लो सरकारले पाँच वटा अध्यादेश जारी गरेको थियो । सो अध्यादेश वर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारले गत पुस १८ गते सदनमा पेश गरेको थियो ।

अध्यादेश पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत् पारित गरी प्रमाणित गर्नुपर्ने प्रदेशसभा नियमावलीको व्यवस्थाअनुसार आज प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेश गरिने छ । यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेश गर्ने कार्यसूची रहेको छ ।