पत्रपत्रिकाबाट
काठमाडौं — ‘एक दिन बुढो बाघले एक महिलालाई झम्टिएर मारेछ । महिलालाई खाइहाल्यो । तर तिनले लगाएको सुनको बाला बच्यो। त्यसपछि बाघले हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ । र, बाला हातैमा दिने भन्दै बाला लिन आएकालाई झ्याम्पै पारेर खाँदो रहेछ । साथीहरू बाला देखेर नलोभियौं ।’

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ २२ गते प्रतिनिधिसभा बैठकमा उक्त नीतिकथा सुनाउँदै नेपाली कांग्रेसलाई हिँड्न नसक्ने बुढो बाघ र माओवादी केन्द्रलाई लोभमा फसेको बटुवासँग तुलना गरेका थिए। ओलीले एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुअघि पुस १० गते भएको समझदारीमा कायम रहन माओवादीलाई आग्रह गरेका थिए।

निर्वाचनमा गठबन्धन गरेर लडेको कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री छाड्न नमानेपछि उनी एमालेसँग सहकार्य गर्न पुगेका थिए। एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि दाहाल राष्ट्रपतिसहितका सबै पद उसैलाई छाड्दा कुनै पनि बेला धोका हुनसक्ने निष्कर्षमा पुगे। प्रधानमन्त्रीमा कांग्रेसबाट पनि विश्वासको मत पाएपछि दाहाल चुनावअघिको गठबन्धनप्रति लचिलो देखिएका छन्। त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका दाहालले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आश्वासन दिइसकेका छन्। माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने छनक पाएपछि ओलीले कांग्रेसलाई व्यंग्य गर्दै प्रतिनिधिसभा बैठकमा सुनाएको बाघ र बालाको नीतिकथा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालमा प्रयोग गर्न खोजेका छन्।

माओवादीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई समर्थन नगर्ने र निर्वाचनअघिको पुरानो गठबन्धन ब्युँताउने प्रयास गरेपछि ओलीले एमालेबाट अलग भएर नेकपा एस गठन गरेका नेपाललाई राष्ट्रपति बन्न आग्रह गरेका छन्। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगत्तै नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्न निकट नेताहरूले राखेको प्रस्ताव ओलीले ठाडै अस्वीकार गरेका थिए। ‘पार्टी विभाजन गरेर मेराविरुद्ध सक्रिय नेपाललाई राष्ट्रपति बनाएर मैले पुरस्कृत गर्नुपर्ने’ भन्ने टिप्पणी ओलीले गरेका थिए। तर परिस्थिति प्रतिकूल बनेर एमाले सरकार बाहिर हुने अवस्था आउन सक्ने भन्दै ओलीले त्यस्तो हुन नदिन नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्। उनले नेकपा एस र एमालेबीच एकीकरणका लागि प्रस्ताव पनि राखेका छन्। ओलीको यो प्रस्तावमा नेपाल लोभिएको जनाउँदै निकट एक नेताले भने, ‘पार्टी स्थापनाको छोटो समयमै सबै दलले नेकपा एसलाई स्वीकार गर्ने अवस्था आएको छ। यस्तो अवसरलाई किन सदुपयोग नगर्ने भन्ने मत छ।’

ओलीको प्रस्तावलाई मात्र आधार बनाएर राष्ट्रपतिका लागि नेपाल अघि बढ्न नहुने निकट नेताहरूको बुझाइ छ। माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा सरकार गठन भएपछि नेपालले पटकपटक भेट्न खोज्दा पनि ओलीले नचाहेको स्मरण गर्दै नेकपा एसका एक पदाधिकारी भन्छन्, ‘पुरानो गठबन्धन ब्युँतिने अवस्थामा नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेर कांग्रेस र माओवादीसँग दूरी बढाइदिने रणनीति ओलीको हुन सक्छ।’ एमालेले नेपाललाई राष्ट्रपतिमा समर्थन गर्दा पनि कांग्रेस र माओवादीले नमानेको भन्ने देखाउन ओलीले यस्तो प्रस्ताव राखेको हुन सक्ने टिप्पणी गर्दै नेपालनिकट ती पदाधिकारीले भने, ‘परिस्थितिको गहिरो मूल्यांकन नगरी हतारमा अघि बढ्नु ठिक हुँदैन।’

हतपतमा निर्णयमा पुग्दा नेता नेपालले विगतमा पनि धेरैपटक धोका खाइसकेको ती नेताको बुझाइ छअहिले पनि कांग्रेस र माओवादीले नचाहेसम्म नेपाल राष्ट्रपति बन्न सहज नभएको दाबी ती नेताको छ। एमाले अध्यक्ष ओलीले अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रयोग गरेर प्रधानमन्त्री दाहालविरुद्ध घेराबन्दी गरिहेको स्रोत बताउँछ। नेकपा एसलाई एमालेमा मिलाउन सके कांग्रेस र माओवादीबाहेकको सरकार बनाउने योजना ओलीको छ।  

ओलीले खेद्दा पनि नेकपा एसलाई आफूहरूले सहयोग गरेको बुझाइमा कांग्रेस र माओवादीका नेताहरू छन्। अहिले आएर नेता नेपाल एमाले अध्यक्ष ओलीकै प्रलोभनमा पर्न खोजेको त होइन भन्ने आशंका गर्दै माओवादीका एक नेताले भने, ‘उहाँ (माधवकुमार नेपाल) का विषयमा हाम्रा अध्यक्ष (माओवादी केन्द्र) सँगै कांग्रेस सभापति शेरबहादुर देउवाजी चिन्तित देखिनुहुन्छ। त्यही भएर प्रधानमन्त्रीमा २÷२ र १ वर्षको प्रस्ताव आएको हो।’

ओलीले कांग्रेस, माओवादी र नेकपा एसबीच दूरी र अविश्वास बढाउन नेपाललाई राष्ट्रपतिमा अघि सारेको बुझाइ माओवादीका ती नेताको छ। ओलीको चाहनाअनुसार नेपाललाई राष्ट्रपति उम्मेदवार बनाएको अवस्थामा सहयोग गर्न कठिन हुने जनाउँदै ती नेताले भने, ‘त्यस्तो भयो भने ओलीले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको गृहकार्य थाल्छन्। होइन अब पार्टी एक भयो चुनाव जितिन्छ भन्ने लाग्यो भने ओलीले प्रधानमन्त्रीले विश्वासको मत पनि नपाउने र नयाँ सरकार पनि गठन नहुने अवस्था खडा गरेर मुलुकलाई मध्यावधि निर्वाचनमा लैजान्छन्।’ नेकपा एसका अर्का एक नेताले भने सधैं नेता नेपालविरुद्ध बोल्दै आएका ओलीले अहिले एकाएक राष्ट्रपतिको प्रस्ताव राख्नुमा कुनै ‘चालबाजी’ हुन सक्ने टिप्पणी गरे।

देउवा, दाहालसहितका नेताले नेपाललाई परिपक्व नेताका रूपमा लिए पनि विगत त्यस्तो नदेखिएको उनलाई नजिकबाट नियाल्दै आएका एक नेताले बताए। एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधनपछि नेतृत्वमा पुगेका नेपालले समयमा कुनै पनि निर्णय लिन नसकेको र परिस्थितिको गहिराइ पनि बुझ्न नसकेको ती नेता बताउँछन्। नेपालले सुझबुझपूर्ण निर्णय गर्न नसक्दा २०५४ सालमा एमाले विभाजन भएको ती नेताको बुझाइ छ। २०५९ असोज १८ पछि प्रतिगमन आधा सच्चियो भन्दै नेपालले राजाविरुद्धको आन्दोलन छाडेर पार्टीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी गराएका थिए।

त्यसबेला पाँच राजनीतिक दलको आन्दोलन तुहाउन र उनीहरूबीच विभाजन ल्याउन सूर्यबहादुर थापाले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राजा ज्ञानेन्द्र शाहले २०६१ वैशाखमा प्रधानमन्त्रीका लागि निवेदन आह्वान गरेका थिए। आन्दोलनको नेतृत्व गरिरहेका कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले राजाले दलहरूलाई प्रधानमन्त्री दिन होइन, आन्दोलन तुहाउन खोजेको भन्दै उक्त प्रक्रियामा सहभागी नहुने बताए। तर एमालेका तत्कालीन महासचिव नेपाल भने आफूलाई प्रधानमन्त्री हुनबाट रोक्न कोइराला लागेको बुझाइमा पुगे। उनले प्रधानमन्त्रीका लागि दरबारमा बिन्तीपत्र हाले। तर राजाले नेपाललाई होइन, बिन्ती नहालेका देउवालाई प्रधानमन्त्री नियुक्त गरे।

२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत प्रत्यक्ष शासन गर्न थालेपछि एमाले फेरि कांग्रेस नेतृत्वको आन्दोलनमा आएको थियो। माओवादीलाई शान्तिप्रक्रियामा ल्याएपछि २०६४ चैतमा भएको संविधानसभा निर्वाचनमा नेपालसहित एमालेका शीर्ष नेताहरू पराजित भएका थिए। पार्टी निर्वाचनमा पराजित भएपछि महासचिवबाट राजीनामा दिएका नेपाललाई पुष्पकमल दाहालको प्रस्तावमै संविधानसभा सदस्यमा मनोनित गरिएको थियो।

संविधानसभा निर्वाचनपछि दाहाल नेतृत्वमा माओवादीको सरकार बन्यो। प्रधानसेनापति प्रकरणमा दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिए। त्यसपछि कांग्रेसका तत्कालीन सभापति कोइरालाको प्रस्तावमा नेपाल प्रधानमन्त्री बने। तर नेता नेपाल २०६५ सालमा भएको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न लालायित भए। माओवादीले उनलाई राष्ट्रपति बनाउने आश्वासन दिए पनि अन्तिममा रामराजाप्रसाद सिंहलाई अघि सा¥यो। कांग्रेसले राष्ट्रपतिमा डा. रामवरण यादवलाई उम्मेदवार बनायो। निर्वाचनमा पनि यादव विजयी भए। अहिले ओलीले नेपाललाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन्। ओलीले पार्टीको बुटवल महाधिवेशनदेखि झलनाथ खनाललाई प्रधानमन्त्री हुनबाट रोक्नसम्म नेपाललाई प्रयोग गरेको प्रसंग कोट्याउँदै निकट एक नेताले भने, ‘आफ्नो समस्या पार लगाउन ओलीले एमाले र माओवादीबीच एकीकरण गर्दा पनि त्यस्तै गरे। पार्टीभित्रको विवाद तीव्र हुँदा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भने तर व्यवहारमा त्यस्तो भएन। अहिले पनि ओलीले नेता नेपाललाई राष्ट्रपति बनाउने भनेर लोभ्याएका छन्।’

कांग्रेस र माओवादी एक ठाउँमा उभिएको अवस्थामा उनीहरूले अघि सारेको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन करिब तीन हजार मतभार चाहिन्छ। यसका लागि जनता समाजवादी पार्टी, जनमत, नागरिक उन्मुक्ति वा अन्य साना र स्वतन्त्र सांसदको समर्थन भने जुटाउनुपर्छ। एमाले, नेकपा एस, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र समर्थनले राष्ट्रपतिमा निर्वाचित हुन सकिँदैन। यस्तो अवस्थामा नेपाललाई राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक मतभार पुग्दैन। कांग्रेस र माओवादीबाहेक सबै दल र स्वतन्त्र सांसदले समर्थन गरे मात्र नेपाल राष्ट्रपतिमा निर्वाचन हुन सक्छन्। ठूलो दल कांग्रेस प्रधानमन्त्री, राष्ट्रपति सबै पदमा अन्य दललाई समर्थन गरेर बाहिर बस्ने अवस्था नभएको र माओवादी पनि त्यसको पक्षमा नरहेको नेपाल निकट नेताहरू नै बताउँछन्। कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अघि बढाउने र उपराष्ट्रपतिमा जनता समाजवादीलाई समर्थन गर्ने आन्तरिक गृहकार्यमा जुटेको छ। निर्वाचनअघिको पाँचदलीय गठबन्धनका नेताबीच कांग्रेसलाई राष्ट्रपति दिने समझदारी भइसकेको दाबी गरिएको छ। कांग्रेसले नेतृत्व गरेको त्यो गठबन्धनमा माओवादी केन्द्र, नेकपा एस, जनमोर्चालगायत थिए।

पार्टी कार्यक्रमका लागि मंगलबार दाङ पुगेका नेकपा एसका अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनका विषयमा बृहत् छलफल आवश्यक रहेको बताएका छन्। नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने धारणा राखे। ‘अरूका निम्ति मात्रै हामी सधैंभरि बलिदान हुने र अरूले चाहिँ त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन,’ उनले भने। राष्ट्रपतिमा चाहना राख्नु बेग्लै कुरा भएको बताउँदै उनले पत्रकारसँगको कुराकानीमा थपे, ‘मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन।’

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेका छन्। उनीहरूले प्रधानमन्त्री दाहाललाई भेटेर यस्तो प्रस्ताव राखेका हुन्। लोसपाका नेताले ओलीलाई पनि भेटेर यही प्रस्ताव राखेका छन्। यसअघि ओलीले ठाकुरलाई संसद् भवन बानेश्वरबाट आफ्नै गाडीमा बालकोट लगेका थिए । आफ्नो पार्टीको उम्मेदवार राष्ट्रपति बन्ने अवस्था नभएमा ठाकुरलाई बनाउने आश्वासन उनले दिएका थिए। (आजको नागरिक दैनिकबाट)