काठमाडौं — आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको हो ।

घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ । आज मङ्गलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो । जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै २ सय १३ रनको विजयी लक्ष्य पूरा गर्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेलेर ७ चौका र ४ छक्का प्रहार गरे । उनले नेपालका लागि सातौं अर्धशतक प्रहार गरेका हुन् । । यस्तै, करण केसी ३७ बलमा ३१ रनसहित अविजित रहे । सन्दीप लामिछानेले ९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा आशिफ शेख १२ रनमा पेभिलियन फर्किए ।

ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोराले १ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए । नेपालको जितमा रोहित पौडेल र करण केसीले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।

स्कटल्याण्डका मार्क वाटले तीन विकेट लिँदा क्रिस ग्रिभ्सले दुई तथा सफ्यान सरिफ, माइकल लिस्क र ब्रेन्डन एमसीमुलेनले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै २१२ रन जोड्यो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले ५० बलमा ६० रन, म्याथ्यु क्रसले ६३ मा ४२, ब्रान्डन एमसीमुलेनले ४८ बलमा ३१ रन जोडे । यस्तै, क्रिस्टोफर एमसीब्राइडले ३० बलमा २२ रन जोड्दा किले कोएट्जरले २३ बलमा २२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १र१ विकेट लिए । । यस्तै, स्कटल्याण्डका म्याथ्यु क्रस रनआउट हुन पुगे । उनलाई दिपेन्द्र सिंह ऐरीले आउट पारे । दिपेन्द्रले ‘डाइरेक्ट हिट’ पार्दै क्रसलाई आउट पारेका हुन् ।

२०१९ देखि सुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भुमीमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको नेपाल आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमै पहिलो पटक लगातार चार खेल जित्न सफल रह्यो । अर्कोतर्फ नेपाल विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली समेत बनेको छ ।

यो नतिजासँगै स्कटल्याण्डले ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अङ्कका साथ शीर्ष स्थानमा रहँदै लिग २ को अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अङ्कका साथ दोस्रो स्थानमा छ ।

नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्कका साथ चौथो स्थानमा छ । यस्तै, युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अङ्कका साथ पाँचौं स्थानमा रहँदा नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अङ्कका साथ छैटौं स्थानमा छ ।
पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । जसअनुसार ओमान र स्कटल्याण्ड सोझै विश्वकप छनोटमा पुगेका हुन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्नेछ ।