फाइल तस्वीर


दाङ — महानायक राजेश हमालले विदेशीको नक्कल गरेर चलचित्र क्षेत्रको विकास नहुने बताउनु भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानायक हमालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।


महानायक हमालले नेपाली सिनेमामा मौलिक कथावस्तुको अभाव रहेकोको टिप्पणी गर्दै आफ्नै नेपाली समुदायका सुख, दुःख र जनजीवनसँग सम्बन्धित विषयवस्तुलाई गहन रूपमा उठाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाली चलचित्रमा मौलिकतासहित प्रविधिको विकासमा ध्यान दिनुपर्ने आवश्यकता औल्याउँदै विश्व बजारमै स्थान पाउने सक्ने चलचित्र नेपालमै बन्न सक्ने दावी समेत गर्नुभयो ।


विदेशी सिनामाको नक्कल गरेरमात्र नेपाली चलचित्र क्षेत्रको विकास हुन नसक्ने भन्दै महानायक हमालले आफ्नै नेपाली समुदायका सुख, दुःख र जनजीवनसँग सम्बन्धित विषयवस्तुलाई गहन रूपमा उठाउनु आवश्यक रहेको बताउनुभयो ।

प्रविधिको विकाससँगै चलचित्र क्षेत्रमा लागेका कलाकर्मीलाई चुनौती थपिएको हुँदा कलाकर्मीले पनि समय सापेक्ष रुपमा प्रविधि अनुसार आफू परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । ‘हिजोका दिनमा हलमै पुगेर चलचित्र हेर्ने गरिन्थ्यो, प्रविधिको विकासले अहिले हातमा चलचित्र पुगिसक्यो’, ‘यो अवस्थामा चलचित्र क्षेत्रमा पनि परिवर्तन आउनुपर्छ। दर्शकको चाहना अनुसार प्रविधिको विकासलाई आत्मसाथ गरेर सिनेमा बनाउनु पर्दछ’ कलाकर्मी हमालको भनाई थियो ।

सिनेमामा दर्शकहरुले कथावस्तु, अभिनयसँगै सन्देश खोजिरहेको हुँदा अब दर्शकहरुको रुचीमा आधारित रहेर चलचित्र बन्नुपर्नेमा जोड दिनुभयो । कथावस्तुसँगै प्रविधिको विकासमा ध्यान दिन सके नेपाली सिनेमा पनि राम्रो बनाउन सकिने महानायक हमालले बताउनु भयो ।