टर्कीए — टर्कीमा फेरि शक्तिशालि भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको टर्कीको हताय प्रान्तमा सोमबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ । भूकम्पको झड्का सिरियामा पनि परेको बताइएको छ । दुई देशमा गरी ६ सय भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । उक्त शक्तिशालि भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।

टर्कीको समाचार एजेन्सीका अनुसार पछिल्लो भूकम्पपछि ३२ वटा पराकम्प महसुस गरिएको छ । पछिल्लो भूकम्पमा तीन जना मानिसले ज्यान गुमाएका छन् भने २१३ जना घाइते भएका छन् । भूकम्पपछि प्रभावित क्षेत्रका वासिन्दाहरु सडकमा आएका थिए । टर्कीको आपतकालिन प्रवन्धन एजेन्सीका अनुसार पछिल्लो भूकम्पबाट क्षतिग्रस्त भएका थुप्रै भवनहरुमा यो भूकम्पले थप क्षती पुर्याएको छ ।