जाकार्ता — इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको ब्लिटार शहरस्थित एउटा घरमा आइतबार साँझ भएको पटका विस्फोटमा चार जनाको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।


विस्फोटमा मारिएका सबै एकै परिवारका सदस्य रहेको बताइएको छ । ब्लिटारका प्रहरी प्रमुख अर्गो वियोनोका अनुसार विस्फोटमा कम्तीमा १३ गाउँले घाइते भएको र २० भन्दा बढी घरमा क्षति पुगेको छ ।


इस्लामिक व्रत रमजानको पूर्वसन्ध्यामा बुबाले बनाएको पटाकाले विस्फोट गराएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । प्रहरीले घटनास्थलको अनुसन्धान गर्न बम स्क्वाड तैनाथ गर्दै स्थानीयलाई घटनास्थलबाट टाढा रहन आह्वान गरेको छ ।