फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका बेलामा बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेका सबै राजनीतिक दलहरु एक ठाउँमा रहनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्कीको पोखरास्थित लेखनाथमा पार्टीको गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्नेक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा रहेका शक्ति राष्ट्रपति निर्वाचनका बेला पनि मिल्नुपर्ने आफूहरुको मत रहेको उल्लेख गर्नुहुँदै ‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो’ भन्नुभयो ।
राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको भन्दै तीन ठूला दल एक ठाउँमा रहनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो । प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री दाहालले ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन । राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ । हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौं । तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ’ — भन्नुभयो ।