फाइल तस्वीर


काठमाडौं — फागुन २५ हुने राष्ट्रपति तथा चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगले सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै न्याय परिषद्को परामर्शमा न्यायाधीश पौडेललाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित सङ्घीय संसद् भवनलाई मतदान स्थल तोकी दुई वटा मतदान केन्द्र बनाउने भएको छ । सङ्घीय संसद्का सदस्यले एउटा र प्रदेशसभाका सदस्यले अर्को मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन, फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ । यसैगरी उपराष्ट्रपति निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ता गर्ने र चैत ३ गते मतदान हुने आयोगको कार्यतलिका रहेको छ ।