काठमाडौं — कतार बस्दै आएका चितवनका टेकप्रसाद गोतामेले राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई फुटबल बुट हस्तान्तरण गरेका छन् । टेक प्रसादले सोमबार दशरथ रङ्गशालामा राष्ट्रिय महिला फुटबल टोलीका ११ खेलाडीलाई बुट हस्तान्तरण गरेका हुन् ।

गत भदौमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपालले उपाधि जिते आफूले २ लाख रुपैयाँ दिने घोषणा गरेको बताउँदै उनले उपविजेता बने पनि वचनअनुसार सहयोग गरेको बताए । उनले कामको सिलसिलामा स्वदेश आएको मौकाका खेलाडीलाई बुट दिएको बताए ।

नेपाल साफको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। टेकप्रसाद १३ वर्षदेखि रोजगारीका क्रममा कतारमा छन् । कार्यक्रममा महिला फुटबल संघकी तथा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामाले खेलाडीको हौसला बढाएकोमा धन्यवाद दिएकी छिन् । राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले खेलाडीको हौसला बढाएकोमा धन्यवाद दिदै राम्रो प्रदर्शनका लागि यसले मनोबल बढाउने बताइन्।

फरवार्ड सावित्रा भण्डारी साम्बाले आफू उपचारका लागि कतार जाँदा गोतामेलगायत त्यहाँ रहेका नेपालीले गरेको सहयोगको स्मरण गर्दैै धन्यवाद दिएकी थिइन् । महिला टोली भारतसँग दुई मैत्रीपुर्ण खेल खेलेर आइतबार स्वदेश फर्किएको थियो । नेपालले पहिलो खेलमा भारतसँग २–२ र दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।