काठमाडौं — नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ । आज आइतबार राजधानीमा एक समारोहबीच कुटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्यले समालोचनात्मक कृतिको लोकार्पण गर्नुभएको हो ।
प्रकाशक सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको लोकार्पण समारोहमा समालोचक डा. लेखप्रसाद निरौला र ठाकुर शर्माले २ सय ६० पृष्ठ लामो कृतिको समीक्षा गर्नुभएको थियो । कृतिमा ३२ वटा समालोचना सङ्ग्रहित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, पारिजात, रमेश विकल, हरिभक्त कटुवालसम्मको सिर्जनाको समालोचना लेखक मैनालीले गर्नुभएको हो ।
समारोहमा कूटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्य, पूर्वमुख्यसचिव विमल कोइराला, डा. गार्गी शर्मा लगायतले लेखक मैनाली र कृतिबारे चर्चा गर्नुभएको थियो । लेखक मैनालीले आफूले एसएलसी पास गरेपछि नै साहित्यिक समालोचनाको सुरुवात गरेको स्मरण गर्नुभयो । ‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशन गर्ने निधो झण्डै चार दशकअघि नै गरेको उहाँले बताउनुभयो । उहाँले २०४० देखि २०७९ सालसम्म लेखिएका समालोचनाहरू कृतिमा समावेश गरेको जानकारी दिनुभयो ।