फाइल तस्वीर


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको बताउनु भएको छ । आईतबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन टुट्ने सङ्केत गर्नुभएको हो ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचन पछि मात्रै मुलुकको राजनीतिले कोर्स परिवर्तन गर्ने दावी गर्नुभयो ।

एसका अध्यक्ष नेपालले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने उल्लेख गर्नुभयो । देशको राजनीति कुन दिशातर्फ मोडिन्छ भन्ने कुरा अब एकसाता भित्रै थाहा हुने बताउनुभयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा काङ्ग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष नेपालले रास्वपाप्रति इङ्कित गर्दै के–के न गछौं आएको पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको टिप्पणी गर्नुभयो । नेता नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै मुलुकमा फेरि मण्डलेहरु जाग्न लागेको चर्चा गर्दै पूर्वराजालाई सहभागी गराएर अभियान चलाउने एमाले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई अझै कारबाही गर्न नसक्नु कम्युनिस्ट पार्टीका लागि लज्जास्पद भएको धारणा व्यक्त गर्नुभयो ।

विद्यार्थी सङ्गठनको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मुलुकको भरपर्दो राजनीतिक दलको रूपमा नेकपा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि विद्यार्थी सङ्गठनका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।