फाइल तस्वीर
एटलाण्टा — अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले अतिरिक्त चिकित्सा हस्तक्षेपको सट्टा घरमै अस्पताल हेरचाह प्राप्त गर्ने र आफ्नो बाँकी समय आफ्नो परिवारसँग बिताउन निर्णय गर्नुभएको छ । उहाँ कलेजो र मष्तिष्क रोगबाट पीडित हुनुहुन्छ ।

चिकित्सक टोलीको रेखदेखमा घरमै आराम गर्ने निर्णय पूर्वराष्ट्रपतिले गर्नुभएको कार्टर सेन्टरले शनिबार एक वक्तव्य निकालेर बताएको हो । अमेरिकाको इतिहासमा ह्वाइट हाउसबाट बाहिरिएपछि लामो जीवन बाँच्ने पूर्वराष्ट्रपति ९८ वर्षीय कार्टर हुनुहुन्छ । उहाँले जनवरी १९७७ देखि जनवरी १९८१ सम्म अमेरिकाको ३९ औँ राष्ट्रपतिका रूपमा देशको नेतृत्व गर्नुभएको थियो ।

आर्थिक सङ्कटबाट गुज्रिएको अमेरिकी अर्थतन्त्रलाई गतिशील तुल्याउनेदेखि इरान सङ्कट, ऐतिहासिक इजिप्ट–इजरायल शान्ति सन्धि गराउनेसम्मको केन्द्रीय भूमिका निर्वाह गर्नुभएका पूर्वराष्ट्रपति कार्टर पूर्वअभिनेता तथा क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रेगनसँग सन् १९८० को चुनावमा पराजित हुनुभएको थियो ।

मानवीय सहायता, गरिबीको चपेटामा परेका अफ्रिकी महादेशका मुलुकका साथै विश्वका अन्य भागमा बढेको द्वन्द्व अन्त्य गर्न पूर्वराष्ट्रपति कार्टरले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । अन्तर्राष्ट्रिय द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न, लोकतन्त्र र मानवअधिकारको रक्षाका साथै आर्थिक एवम् सामाजिक विकासको प्रवद्र्धनमा अथक प्रयास गरेबापत उहाँलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।