नामिबियाको विकेट लिएपछि खुसी हुँदै नेपाली खेलाडी, तस्वीरः क्यान

काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज शनिबार भएको खेलमा नेपालले अर्को जित निकालेको छ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको हो ।

ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गर्दै नेपालले नामिबियालाई तीन विकेटले हराउन सफल हुँदा जारी लिगमा नेपालले लगातार तेस्रो जित निकालेको हो । जितका लागि नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी शतकीय साझेदारी गर्दा आसिफले सर्वाधिक ८१ रन बनाउँदा ९८ बलमा आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोडेका थिए भने ज्ञानेन्द्रले ७४ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६५ रन बनाएका थिए ।

दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले एक सय ३९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । नेपालबाट एकदिवसीयमा खेलमा उच्च साझेदारी हो । यसअघि कुशल भुर्तेल र रोहित पौडेलको नाममा एक सय ३३ रनको शतकीय साझेदारी थियो । उनीहरुले पनि नामिबियाविरुद्ध नै उक्त शतकीय साझेदारी गरेका थिए ।

यस्तै कुशल मल्लले ६२ रनको अर्धशतकीय पारी खेल्दै ४९ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन जोडेका थिए । कप्तान रोहित पौडेलले ३९ रन बनाए । बलिङमा नामिबियाका रुबेल ट्रुम्पलम्यानले तीन विकेट लिन सफल भएका थिए । बर्नाल्ड स्कर्टजले दुई तथा टाङ्गेनी लुङ्मेनी र पीक्की या फ्रान्सले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेका नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ७५ रन बनाएका थिए । उनले ६३ बलमा ११ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए । यस्तै पीक्की या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, रुबेल ट्रुम्पलम्यानले २४, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले १५/१५ रन जोडेका थिए । यो योगफल जितको लागि प्रयाप्त भएन ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । यससँगै विश्वकप लिग–२ मा सन्दीपले व्यक्तिगत ५० विकेट पूरा गरेका छन् । करण केसीले एक विकेट लिए । जारी सिरिजका नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

सिरिजमा नेपाल २७ खेलबाट २४ अङ्क जोड्दै छैटौं स्थानमा रहेको छ । ३३ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । सिरिज च्याम्पियन बनिसकेको स्कटल्यान्डले ३४ खेलबाट ४८ अङ्क बनाएको छ । नेपालले अर्को खेल फागुन ९ गते मङ्गलबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सात टोली सहभागी सिरिजमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछ ।