काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज शुक्रबार भएको खेलमा स्कटल्याण्ड घरेलु टोली नेपालसँग पराजित भएको छ । दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको हो ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा दीपेन्द्र र कुशल चम्किंदा स्कटल्याण्डलाई हराउन घरेलु टोली नेपाल सफल देखियो । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दा दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाएका थिए ।

कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाउन सफल भए । दीपेन्द्र र कुशलले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।

नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो । आजको जितसँगै नेपालले लगातार दोस्रो जित निकालेको छ ।